दफा ३७
गर्भवती वा सुत्केरी बन्दी सम्बन्धी व्यवस्था
(१) कारागार प्रशासकले गर्भवती वा सुत्केरी बन्दीलाई उपयुक्त बसोबास, पौष्टिक आहार, नियमित स्वास्थ्य परीक्षण र औषधि उपचारका सम्बन्धमा तोकिए बमोजिमको विशेष व्यवस्था गर्नु पर्नेछ।

(२) गर्भ रहेको छ महिना पूरा भएको गर्भवती बन्दीले आफू कारागार बाहिर बसी स्वास्थ्य उपचार गर्न चाहेमा कारागार प्रशासकले निज सुत्केरी भएको अन्ठानब्बे दिन पुरा भएको भोलीपल्ट कारागारमा फर्कने गरी कागज गराई तोकिए बमोजिम परिवारका सदस्यको जिम्मा जमानीमा कारागारबाट बाहिर जाने अनुमति दिनु पर्नेछ।

(३) उपदफा (२) मा जुनुसुकै कुरा लेखिएको भए तापनि देहायका अवस्थाका बन्दीलाई कारागारबाट जिम्मा जमानीमा छोड्न सकिने छैन:-

(क) प्रचलित कानून बमोजिम (जन्म कैद वा जघन्य कसूरको सजाय पाएको,

(ख) जन्म कैद वा जघन्य: कसूरको सजाय हुन सक्ने कसूरको अभियोगमा थुनामा रहेको, वा

(ग) विशेष सुरक्षा कक्षमा राख्ने प्रकृतिको।

(४) उपदफा (२) बमोजिम जिम्मा जमानीमा छुटेकी गर्भवती बन्दी कारागार बाहिर रहेकोमा निज कारागारभित्रै रहे सरह मानिनेछ र्‌ सो अवधि-निजले कैद बसेको अवधिमा गणना गरिनेछ।

तर त्यसरी बाहिर गएको बन्दी काबु बाहिरको परिस्थिति परेको अवस्थामा बाहेक उपदफा (२) बमोजिमको अवधिमा कारागारमा नफर्किएमा त्यसरी कारागार बाहिर रहेको अवधिलाई कारागारभित्र रहेको मानिने छैन र निज कैद बस्नु पर्ने अवधिमा सो अवधि समेत जोडी कैद गर्नु पर्नेछ।

(५) उपदफा (२) बमोजिम जिम्मा जमानीमा छुटेकी गर्भवती बन्दी सो उपदफा बमोजिमको अवधिमा कारागारमा नफर्केमा कारागार प्रमुखले सुरक्षाकर्मी खटाई कारागारमा उपस्थित गराउनेछ।